Monday, November 18, 2013

हरिवंश आचार्य नाम नै एउटा महत्वपूर्ण परिचय हो । संसारमा विरलै कोही नेपाली होलान्, जसलाई उनका बारेमा थाहा नभएको होस् । संसारमा विरलै नेपाली होलान्, जसलाई उनका बारमा सबै कुरा थाहा भएको होस् । रङ्गमञ्च र पर्दाका माध्यमबाट त उनलाई प्रायः सबैले देखेका र चिनेका छन् । उनी असल र महान् कलाकार मात्र होइनन् बेलाबेलामा भएका महत्वपूर्ण राजनीतिक तथा सामाजिक परिवर्तनका अभियन्ता पनि हुन् । यस्ता बहुआयामिक व्यक्तित्वको जीवन कस्तो छ ? अभिनय गरेर अरुलाई पेट मिचीमिची हसाउने र धरधरी रुवाउन पनि सक्ने यी महान् कलाकार आफ्नो वास्तविक जीवनमा कति हासेका छन् र कति रोएका छन् त ? यस्ता अनेक प्रसङ्गहरुको बेलिबिस्तार चिना हराएको मान्छे पुस्तकमा छन् । यो पुस्तक पढेपछि हामी उनलाई आफ्नो सबैभन्दा नजिकको आफन्तलाई झैँ चिन्नेछौँ ।

म सानो छँदा महिलालाई सुत्केरी व्यथा लाग्दा अस्पताल वा स्वास्थ्यचौकी लैजाने चलन थिएन । किनभने त्यतिखेर नजिकै अस्पताल र स्वास्थ्यचौकी नै थिएनन्, मानिसमा चेतना पनि थिएन । कोहीकोही घरमै सुँडिनी बोलाएर सुत्केरी गराउँथे । सुँडिनी पनि भनेको बेला उपलब्ध हुँदैनथे । गाउँघरका जान्ने र अनुभवी महिलाहरूले सुत्केरी गराउँथे । हिजोआज त धेरैजसो गाउँघरमा पनि स्वास्थ्यचौकी र अस्पतालमा लगेर सुत्केरी गराउने सुविधा भइसकेको छ ।
हिजोआज पहुँचवाला ज्योतिषीको सल्लाहअनुसार यति बजेर यति मिनेट जाँदा बच्चा जन्मायो भने राजयोग र भाग्यमानी हुन्छ भनेर पेट चिरेर बच्चा झ्क्निेने पनि गर्छन् । तर, त्यस्ता बच्चा पनि नपढ्ने, बदमास, धुन्धुकारी भएर निस्किएका छन् ।
चिना बिग्रिएकाले पनि ग्रहशान्ति गरेर आफ्नो भाग्य सुधार्ने प्रयास गर्छन् । तर, जे हुनु छ, भएरै छाड्दोरहेछ । जीवन त नमिलेकै हुँदो रहेछ । मानिसले एकातिरबाट मिलाउन खोज्छ तर जीवन अर्कोतिरबाट बिग्रिरहेको हुँदो रहेछ ।
जीवन भोग्दै जाने क्रममा मानिस कहिले अति भौतिकवादी र कहिले अति अध्यात्मवादी पनि हुँदो रहेछ । जीवन बाँच्न मानिसले विज्ञानको मात्र होइन, रहस्यवादको पनि सहारा लिंदो रहेछ ।
त्यसैले होला, हाम्रो देशका वामपन्थी नेताहरू लुकीलुकी मन्दिर गएको, ग्रहशान्ति गरेको, घरमा लुकाएर देवीदेवताको पूजा गरेको समाचार बेलाबेला आउने गर्छ । शायद उनीहरूलाई भौतिकवादी विचारले मात्र सुखशान्ति दिएन होला र त त्यसो गरे होलान् ।
जीवन भौतिकवाद र रहस्यवादको बीच बाटोबाट हिंड्दो रहेछ । हिंड्दै जाँदा कहिले भौतिकवादको बाटोतिर चिप्लिएर पुगिंदो रहेछ, कहिले रहस्यवादको बाटोतिर ।
म एघार वर्षको थिएँ । बाआमाले पहिल्यै मेरो चिना बनाएर राख्नुभएको थियो । भगवानले रक्षा गरून् भनेर उहाँहरूले चिनामा एक तोला सुनमा भगवान्को प्रतिमा कुँदेर राख्नुभएको रहेछ । आमा बितेपछि कसैले ‘चिनामा सुन छ’ भन्ने थाहा पाएर सुन चोर्दा चिनासमेत चोरेर लगेछ । त्यसैले ज्योतिषीसँग ‘मेरो भविष्य कस्तो छ ?’ भनेर कहिल्यै सोध्न पाइनँ ।
मेरो मात्र होइन, संसारमा जति मान्छे छन्, सबैको चिना हराएको छ । ज्योतिषीले बनाएको चिना भएर पनि भविष्य रहस्यमय छ । भोलि के हुन्छ ? कतिखेर कोसँग मिलन हुन्छ र कतिखेर कोसँग बिछोड, केही थाहा हुँदैन । यहाँ चिना हुने मान्छेहरूको पनि चिना हराएको छ ।
आमा बित्नुहुँदा, ओहो ! कत्ति मान्छे भेट्न आएका । कोही मिश्री, कोही फलफूल र कोही घिउ ल्याउँथे ।
म एघार वर्षको फुच्चे, रुन परै जाओस् फुर्किएछु, लाडिएछु । बच्चाहरूलाई आफ्नो घरमा पाहुना आएको असाध्यै मन पर्छ । मलाई पनि रमाइलो लाग्यो, आमा बितेको । तर, जब तेह्र दिनको काम सकियो, बिस्तारै बिस्तारै मान्छेहरू घट्दै गए । पछि त मान्छे आउनै छाडे, कोही पनि आएनन् । त्यसपछि पो थाहा भयो मेरी आमा मर्नुभएछ । तेह्र दिनपछि भने म आमा सम्झ्ेर रुन थालें ।
मान्छे आउन छाडे । आफन्त पनि टाढिए । माया गर्नेले गाली गर्न थाले, हेप्न थाले । आमा नभएको चोरले पनि थाहा पाउँदो रहेछ ‘यो घरको मान्छे मरेकाले यहाँ बच्चाहरू मात्रै बस्छन्’ भनेर ।
गायत्री, गीता, सप्तरुपा तिनोटी दिदीहरूको बिहे भइसकेको थियो । भाउजूहरूको परिवार पनि ठूलो भइसकेको थियो । हामी सबै एउटै घरमा अटाउँदैनथ्यौं । भाउजूहरू नजिकै अर्को घर किनेर सरेका थिए । अब घरमा हामी तीन जना मात्र हुन पुग्यौं– दिदीहरू जानदेवी, बिन्दु अनि म ।
घर पुरानो भएर ठाउँठाउँमा चर्किसकेको थियो । त्यसमाथि भाउजूहरूको पनि भाग दिनुपथ्र्यो । अब घर कि बनाउनुपर्ने भयो कि बेच्नुपर्ने । घर बनाउन हामीसँग पैसा थिएन । भाउजूहरूको पनि ठूलो परिवार, अभावै अभाव थियो । हामीलाई गरीबीले तातो पानीमा चोपल्दै निकाल्दै गथ्र्यो– न आमा, न बा, न आयस्रोत, केही पनि थिएन । भत्किनै लागेको पुरानो, सानो घरको भुईंतलामा राडीपाखी बुन्ने एउटा तामाङ परिवार बहालमा बस्थ्यो– महीनाको तीस–चालीस रुपैयाँ भाडा आउँथ्यो ।
संवत् २०२९ तिरको काठमाडौं शहर अलि शून्य थियो । पाँच–छ बजेपछि मान्छे हिंड्दैनथे बाटामा । हामी तीन जना दिदीभाइ एउटै पलङमा सुत्थ्यौं । चर्पी टाढा बारीमा थियो । राति त्यहाँ जाने आँट आउँदैनथ्यो । म केटो भएकोले झयालबाट पिसाब फेर्थें । दिदीहरू मटानको कोपरामा पिसाब फेरेर झयालबाट मिल्काउँथे ।
कोठा र मटान सल्लाको काठले बारेको थियो । एउटा बिजुलीको चिम झ्ुण्ड्यायो भने कोठामा पनि उज्यालो हुन्थ्यो । मटानमा, भर्याङमा पनि उज्यालो हुन्छ भनेर काठको बारमा माथितिर बिजुलीको बल्ब झ्ुण्ड्याउने एउटा प्वाल राखेको थियो कोठाभित्र । त्यसको ठीक मुनि पित्तलको कोपरा राखिएको थियो ।
एक रात मेरो पेट बेस्कन दुख्यो । दिसा गर्न जान मन लाग्यो । दिदीहरू सुतिरहेका थिए । भुईंमा कोपरा थियो, त्यसैमा बसें । त्यसको ठीक माथि कठबारको बिजुली बत्ती झ्ुण्ड्याउने प्वाल र ठीक अगाडि कोठामा ड्रेसिङ टेबल राखिएको थियो ।
घरमा चोर पसेको रहेछ । कोठामा खœयाकखुत्रुक गरेको, टुकी बालेको देखेर चोरले कठबारको प्वालबाट भित्र हेर्दोरहेछ । मैले अगाडि भएको ड्रेसिङ टेबलको ऐनामा मुखमा आधी रातो, आधी कालो रङ लगाएको मान्छे देखें । ‘त्यो मान्छे हो कि भूत ?’ छुट्याउन गाह्रो भयो मलाई ।
म आत्तिएर कराएँ । मेरा दिदीहरू पनि उठे । आखिर त्यो चोर नै रहेछ । मटानको झयालबाट चोर हामफालेर भाग्यो । हामीले करायौं– ‘चोर आयो, चोर आयो !’
भोलिपल्ट बिहान त्यहाँ एउटा चोर समातेको छ रे भन्ने सुनियो । म पनि हेर्न गएँ । जाँदा त त्यही मुखमा आधी रातो, आधी कालो रङ लगाएको, हाम्रो घरको कठबारको प्वालबाट चियाउने चोर पो रहेछ । त्यतिखेरै मैले भनिहालें– ‘यो चोर त हिजो राति हाम्रो घरमा पनि आएको थियो ।’
त्यसका हातखुट्टा बाँधिएका थिए डोरीले । ‘उसो भए तिमी पनि दुई लात हान यसलाई’ भने सबैले । मैले पनि बडो फुर्तीसँग हातखुट्टा बाँधिएको चोरलाई दुई लात हानें । चोरले पनि भन्यो– ‘पख्लास् ! मैले तँलाई चिन्या छु । तँलाई म के गर्छु हेर्दै जा ।’ मेरो सातोपुत्लो उड्यो ।
हरेक दिन साँझ् पर्यो कि मलाई डर लाग्थ्यो– त्यो चोर मलाई पिट्न आउँछ कि भनेर । भर्याङ उक्लँदा पनि भर्याङमुनि त्यो चोर लुकेको छ कि, त्यसले मेरो खुट्टा च्याप्प समात्छ कि भनेर दुई–तीन खुट्किला एकै पटकमा उफ्रेर भाग्थें । तर, त्यो चोर मलाई कुट्न कहिल्यै आएन ।
घर ज्यादै पुरानो भइसकेको थियो । पानी पर्दा पनि ‘घर ढल्ला कि’ भनेर हामी रातभरि सुत्दैनथ्यौं । त्यसबेला हाम्रो सहारा भनेकै हाम्री साहिंली सानिमा मात्र हुनुहुन्थ्यो । हामी डराउँछौं भनेर सानिमाका छोराहरू हरिहर र विष्णु ढकाल पालैपालो हाम्रो घरमा राति सुतिदिन बालुवाटारदेखि आउँथे ।
म १३ वर्षजतिको थिएँ । दशैंमा सबैले नयाँ–नयाँ लुगा सिलाउँथे । हामीसँग चाहिं पैसा थिएन ।
गैह्रीधारा माधवशमशेरको घरमा दशैं–तिहारमा जुवाको ठूलो खाल जम्थ्यो । कीर्तिनिधि बिष्ट पनि त्यहाँ जुवा खेल्न आउनेमा प्रमुख थिए । हामी कसैले जित्यो भने जितौरी पाइन्छ कि भनेर खाल वरिपरि झ्ुम्मिएर बस्थ्यौं र कसैको कौडाको दाउ पर्यो कि जितौरी माग्थ्यौं । दुई–चार रुपैयाँ पाउँथ्यौं ।
कीर्तिनिधि बिष्टले लगातार दाउ पारे । जसले दाउ पार्छ उसले चुरोट, रक्सी आदि किनिदिनुपर्ने रहेछ । त्यसबखत गैह्रीधारामा ५५५ चुरोट किन्न पाइँदैनथ्यो, नक्साल पुग्नुपथ्र्यो । ‘नक्साल गएर चुरोट किनेर कसले ल्याउँछ ?’ भनेर सोधे । ‘म ल्याउँछु’ भनेर मैले हात उठाएँ ।
‘५५५ चुरोट अनि अरू पनि के के सामान किनेर ल्याउनु’ भनेर तीन सय रुपैयाँ दिए । तर, पैसा पाएपछि चुरोट किन्न नक्साल जाँदै गइनँ । घरमै दुई–तीन दिन लुकेर बसें र दशैंमा मजाले लुगा किनें त्यो पैसाले । दिदीहरूले ‘पैसा कहाँबाट ल्याइस्’ भनेर केरकार गरे । मैले सत्य कुरा भन्दै भनिनँ । ‘बाटोमा पाएको’ भनेर टार्न खोजें तर पत्याएनन् ।

0 comments:

Design and Compelled by Engineer Kshitij Wagle | Blogger Theme by Horizon - Wagle | waglehorizon